बागमती प्रदेशका २ सय ८४ मतदानस्थलमा टिप्दैन प्रहरी सञ्चार

अखबार हब
२०८२ फाल्गुन ३, आईतवार १६:४५

हेटौंडा । बागमती प्रदेशमा उपत्यकाका तीनबाहेक १० वटा जिल्लाका १ हजार २ सय ८८ मध्ये २ सय ८४ मतदानस्थलमा प्रहरीको सञ्चार सेटबाट सम्पर्क नहुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार १० जिल्लामा नेपाल टेलिकमको नेटवर्क नटिप्ने १२ मतदानस्थल र एनसेलको नेटवर्क नटिप्ने २ सय ३५ मतदानस्थल रहेका छन् । दुवै सेवाप्रदायकको नेटवर्कबाट सम्पर्क हुन सक्ने मतदानस्थल १ हजार २ सय १८ रहेका छन् ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दोलखा र रामेछापका केही मतदानस्थलमा सम्पर्कका लागि दुई थान स्याटेलाइट फोन आवश्यक पर्ने प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए ।

बागमती प्रदेशका ३ सय १५ मतदानस्थलमा मात्रै हेलिप्याडको सुविधा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १९ मतदानस्थलमा सडक नपुगेको र सडक संरचना नभएका कारण १३ मतदानस्थलमा कुनै पनि सवारीसाधन जान नसक्ने वरिष्ठ प्रहरी उपरीक्षक गुरुङले बताए ।

धादिङ क्षेत्र नम्बर २ मा पर्ने रुबीभ्यालीका ८ वटा मतदानस्थलमा पैदल जानुपर्ने छ । दोलखाका ४ र रसुवाको १ मतदानस्थलमा सडक सुविधा नरहेको उनले बताए । २ सय ८ मतदानस्थलमा साना चारपांग्रे सवारी पुग्ने र १ हजार ६७ मतदानस्थलमा ठूला सवारीसाधन पुग्ने अवस्था रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*