मोतिबिन्दुरहित नगर बनाउन निजगढ नगरपालिका र आँखा अस्पतालबीच सम्झौता

अखबार हब
२०८२ माघ २१, मंगलवार २०:५८

हेटौंडा। मोतिबिन्दुको समस्यारहित नगरपालिका बनाउनका लागि बाराको निजगढ नगरपालिका र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालबीच मंगलबार सम्झौता भएको छ ।

मोतिबिन्दुका कारण हुने अन्धोपन पहिचान तथा उपचार गर्न नगरपालिका र सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको हो ।

निजगढ नगरपालिकाभित्रका बासिन्दा मोतिबिन्दुका कारण दृष्टि समस्याबाट पीडित भएका छन् । यसलाई समाधान गर्न, निजगढ नगरपालिकाको प्रत्येक घरधुरीमा पुगेर आँखा जाँच गरी मोतिबिन्दु पहिचान गरेर मोतिबिन्दुको समस्या भएकाहरुको शल्यक्रिया गरी दृष्टि फर्काउन यो सम्झौता गरिएको सामुदायिक आँखा अस्पतालका वरिष्ठ अधिकृत सुधिर श्रेष्ठले बताए ।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र तिलगंगा आँखा अस्पतालका प्रमुख संचालन अधिकृतबीच भएको सम्झौता पत्रमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले निजगढ नगरपालिकासँग सहकार्य गरी निजगढ नगरपालिकाभित्र बसोवास गर्ने सम्पूर्ण नागरिकको आँखा जाँच गरी मोतिबन्दु भएका सबै बिरामीको पहिचान गर्ने, आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्नलाई निशुल्क उपचार गर्ने उल्लेख गरिएको छ ।

निजगढ नगरपालिकालाई मोतिबिन्दुका कारण हुने अन्धोपनरहित नगरपालिका बनाउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको नगरप्रमुख पुरीले बताए । आर्थिक रुपमा सबल मोतिबिन्दुका बिरामीलाई सहुलियत दरमा अत्याधुनिक प्रविधिबाट सामुदायिक फmेको कार्यक्रम अन्तर्गत मोतिबिन्दुको शल्यत्रिया गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यो सम्झौता अनुसार नगरपालिकाले जनशक्ति र औषधि खर्च व्यहोर्ने छ । निजगढ नगरपालिकामा १३ वटा वडा रहेका छन् । ती सबै वडाका घरधुरीमा पुगेर आँखा परीक्षण गरिने वरिष्ठ अधिकृत श्रेष्ठले बताए।

‘मोतिबिन्दु समस्या भएकाहरुको अस्पतालमै ल्याएर शल्यक्रिया गर्ने छौं, अरुलाई आवश्यक अनुसार औषधि उपलब्ध गराउने छौं,’ उनले भने । नेपालमा दृष्टिविहिन बनाउन सक्ने कारणहरु मध्ये एक महत्वपूर्ण कारण मोतिबिन्दु पनि हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*