मकवानपुरमा बकैया कला-साहित्य महोत्सव हुँदै, ११ जना स्रष्टा सम्मानित हुने

अखबार हब
२०८२ माघ १८, शनिबार १९:४०

हेटौंडा । झरना साहित्यिक परिवार मकवानपुरले यसवर्ष पनि बकैया साहित्य महोत्सव गर्ने भएको छ । झरनाको ३२३ औँ साहित्यिक शृङखाला एवम् ३३ औँ वार्षिकोत्सव तथा सातौँ बकैया कला–साहित्य महोत्सव, २०८२ हुने भएको छ भने सोहि अवसरमा ११ जना सष्ट्राहरूलाई सम्मान गर्न लागिएको हो ।

२०७६ सालबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष गायत्री रुपामखेतीले जानकारी दिइन् । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै झरनाले महोत्सवमा स्रष्टासँगै विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने जनाएको छ ।

झरनाको ३३ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८२ फागुन ५ र ६ गते महेन्द्र मावि बकैया–४ मा हुने अध्यक्ष रुपाखेतीले जानकारी दिइन् । उनका अनुसार महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरु, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई ७ प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन कार्यक्रम हुने जनाएको छ ।

झरनाले विगतदेखि नै विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

सोही क्रमको निरन्तरता स्वरूप यसवर्षको महोत्सवमा पनि साहित्यकार, पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका सचिव नीलहरि ढुङ्गेलले बताए ।

झरना २०५० सालमा साविक छतिवन गाविस (हाल बकैया गाउँपालिका) मा स्थापित भई हालसम्म क्रियाशील मकवानपुरको अग्रणी साहित्यिक संस्था मध्येको एक हो ।

झरना साहित्यिक मकवानपुरले प्रदान गर्ने पुरस्कारहरूः

  1. साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद रू. २१ हजार १ सय २१ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ बाट पाँचथरका रमेश शुभेच्छुक (यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गर्नुभएको) (यसअघि भैरहवाका प्रा. डा. कपिल प्रसाद लामिछाने-२०८१,काठमाडौँका डा. गीता त्रिपाठी–२०८०, प्रा.डा. जीवेन्द्रदेव गिरी–२०७९, प्रा.डा.देवी नेपाल–२०७८ प्रा.डा. भीम खतिवडा–२०७७, डा. नवराज लम्साल–२०७६
  2.  मुक्तकमा योगदान गरेवापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८२ बाट रुकुम पश्चिमका कर्णबहादुर खत्री । (यो सम्मान साहित्यकार रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गर्नुभएको) (पुनश्चः यो पुरस्कार चैतको चौँथो शनिबार हेटौँडामा आयोजना हुने हुने मुक्तक साँझमा प्रदान गरिनेछ ।) (यसअघि इलामका शिव अधिकारी-२०८१, मोरङका बाबुराम पोखरेल–२०८०, रुद्र अधिकारी–२०७९, मुक्तककार वियोगी बुढाथोकी–२०७८, मुक्तकककार ज्ञानुवाकर पौडेल–२०७७, मुक्तककार उषा शेरचन–२०७६)
  3. जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. निमेष निखिल (यो सम्मान साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गर्नुभएको ।) (यसअघि देवराज खरेल-२०८१, साम्ब ढकाल–२०८०, कथाकार नवराज शर्मा–२०७९, साहित्यकार आर सी रिजाल–२०७८, कवि आर.आर. चौलागाईँ–२०७७, व्यङ्ग्यकार रामचन्द्र आचार्य (फुर्सती)–२०७६
  4. साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गर्ने नगद रू. ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ बाट नेपालगञ्जकी ऋचा लुइटेल। (यो सम्मान साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गर्नुभएको (यसअघि मकवानपुरका बिर्खे अञ्जान-२०८१, स्याङ्जाका मिलन समीर–२०८०, अमला अधिकारी(सिन्धुली)–२०७९, यात्रीप्रकाश पाण्डे (धादिङ)–२०७८, सुमित्रा सुमी (नुवाकोट)–२०७७, विनोदविक्रम केसी (काठमाडौँ)–२०७६)
  5.  मकवानपुरका महिला साहित्यकारलाई नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ बाट मकवानपुरकी संगीता थापा । (यो सम्मान साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गर्नुभएको ) (यसअघि गजलकार बबी थापा-२०८१, गजलकार बिमला कार्की “सुसं”, कवि अनिता न्यौपाने–२०७९, कवि शान्ति प्रियवन्दना–२०७८, साहित्यकार रुकु कार्की–२०७७, कवि विना थिङ तामाङ–२०७६)
  6. मकवानपुरको साहित्यसेवी रहेवापत प्रदान गर्ने नगद रु. ७ हजार ७ सय ७७ सहितको सञ्जीवन) बुटी साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. अर्पण पराजुली । (यो सम्मान साहित्यसेवी तुलसी गिरीले स्थापना गर्नुभएको) (यसअघि बाराकी नियात्राकार अप्सरा पुडासैनी-२०८१, साहित्यसेवी भरतप्रसाद सापकोटा–२०८०, कृष्ण प्रसाद चौलागाई–२०७९, साहित्यसेवी बेल प्रसाद दाहाल–२०७८, साहित्यसेवी मनहरी लामिछाने–२०७७, साहित्यसेवी मुक्तिगोविन्द वैद्य–२०७६)
  7. मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकारलाई प्रदान गरिने नगद रु. ११ हजार १ सय ११ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट मकवानपुरका दीपक अधिकारी । ( यो सम्मान गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको) (यसअघि मकवानपुरका ज्योति न्यौपाने-२०८१, मकवानपुरका रामकुमार एलन, भानुभक्त आचार्य–२०७९)
  8. बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ बाट बकैया ३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगी। (यो सम्मान बकैयाका चन्द्रकुमार राईले स्थापना गर्नुभएको) (यसअघि सन्तोष वि.क.-२०८१, गजलकार अजर फुयाँल–२०८०, कवि स्वस्तिका दाहाल–२०७९, गजलकार विजय दोङ–२०७८, दीपशिखा घिमिरे–२०७७)
  9. बकैयामा रहेका कलाका क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित नगद ७ हजार ७ सय ७७ सहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ बाट मकवानपुरका सूर्य सन्यासी । (यो सम्मान बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको) (यसअघि मुर्तिकार ओमभक्त भण्डारी-२०८१, बाँसुरी बादक विष्णु घतानी–२०८०, ऋषि केवि–२०७९, कलाकार बाबुलाल वाईवा–२०७८)
  10. छन्द कवितामा उल्लेख्य योगदान गरेवापत नगद रु. ९ हजार नौ राशिसहित ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ बाट भैरहवाकी सिर्जना खनाल (यो सम्मान जर्नादन खनालले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको) (यसअघि ललितपुरका रत्न विरही घिमिरे-२०८१)
  11. यस वर्षबाट स्थापना भएको लोक गीतसंगीतमा सेवा गरेबापत आफ्ना मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाद्वारा स्थापित नगद रु. ११,१११/- राशि सहितको ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान-२०८२’ बाट साहित्यकार एवं लोकगायक बझाङका नन्दकृष्ण जोशी ।

यसमा तपाइको मत

Your email address will not be published.


*