एमाले मनहरीका अध्यक्ष सुवेदीको प्रश्न- रास्वपाले मनहरीका बस्तीहरु उठाउने भनेको हो ?

अखबार हब
२०८२ माघ १५, बुधबार २१:०८

हेटौंडा। नेकपा (एमाले) मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनहरी गाउँपालिकाभित्रका बस्तीहरु उठाउन खोजेको हो कि के हो भनेर प्रश्न गरेका छन्।

पार्टीको बिस्तारित बैठकको अध्यक्षता गर्ने क्रममा अध्यक्ष सुवेदीले यस्तो प्रश्न गरेका हुन् । ‘मैले यस क्षेत्रका घन्टीका उम्मेदवार र रास्वपाका नेता बालेन्द्र साहबीचको कुराकानी सुनेको थिएँ, त्यहाँ जंगल क्षेत्रका घरहरु अन्यत्र सार्नुपर्ने कुरा भइरहेको पाएँ’, अध्यक्ष सुवेदीले भने–‘त्यसो हो भने मनहरी गाउँपालिकाको साबिक हाँडीखोला पूरै मध्यवर्ती क्षेत्र र वन क्षेत्र पर्दछ भने मनहरीतर्फका रमन्टार, बिजौना, नयाँबस्ती, प्याङ्चे लगायत सबै बस्ती जंगलमा पर्दछ । के यी बस्तीहरु अब उठाउने एजेण्डा रास्वपाले बोकेको हो त ? हामी त यी बस्तीहरुमा लालपुर्जा दिलाउनका लागि संसदबाटै कानून बनाउन लागेका थियौँ । र, गर्छाै पनि ।’

‘यदि रास्वपाले यी सबै बस्तीहरुलाई जंगल क्षेत्रको नाउँबाट हटाउन र अन्यत्र सार्ने प्रस्ताव गरेको हो भने यसका बिरुद्ध गाउँबस्तीबाट आन्दोलनको आँधीबेहरी ल्याउनुको बिकल्प छैन’, अध्यक्ष सुवेदीले भने।

बस्तीहरुलाई एकीकृत गर्ने बिषयमा एमाले सहमत भएपनि जंगल क्षेत्रको नाउँमा अब्यवस्थित घरहरु हटाउने बिषय एमालेलाई मान्य नहुने उनले बताए।

बिस्तारित बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य भारती पाठकको प्रमुख आतिथ्यता थियो भने केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नं २ का उम्मेदवार महेश बर्ताैला, बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेती, संविधान सभा सदस्य राजाराम स्याङ्तान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*