स्वच्छ पानी नागरिकको मौलिक हक: मन्त्री पौडेल

अखबार हब
२०८२ पुष १६, बुधबार २१:३६

हेटौंडा। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्वच्छ र सुरक्षित पिउने पानी पाउनु नागरिकको मौलिक अधिकार भएको बताउनुभएको छ।

ललितपुरको गोदावरीमा सम्पन्न नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले पानी उद्योगलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री पौडेलले उद्योगीहरूले गरेको ठूलो लगानीको जोखिमप्रति सरकार सचेत रहेको उल्लेख गर्दै भन्नुभयो, “पानी उद्योगलाई मर्यादित र जिम्मेवार बनाउन आवश्यक नीति निर्माण गर्न प्रदेश सरकार तयार छ। उद्योगीहरूको लगानी सुरक्षित हुने वातावरण बनाउनु र दिगो पानी स्रोतको व्यवस्थापन गर्नु हाम्रो प्राथमिकता हो।” उहाँले गुणस्तर मापदण्ड कार्यान्वयनमा उद्योगीहरू आफैं पनि सजग हुनुपर्नेमा जोड दिनुभयो।

विशेष अतिथिको रूपमा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना बैद्य जोशीले पानी उत्पादनमा हुने लापरवाहीलाई कानुनले छुट नदिने प्रष्ट पार्नुभयो। उपभोक्ताको स्वास्थ्य प्रत्यक्ष जोडिने विषय भएकाले गुणस्तर कायम राख्न विभागले कडा निगरानी राख्ने उहाँको भनाइ थियो।

यसैगरी, पूर्व संघीय सांसद नवराज सिलवाल र उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्यले पानी उद्योगका चुनौती र व्यावसायिक सुरक्षाबारे चर्चा गर्नुभएको थियो।

महासंघका अध्यक्ष चेम्जोङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रविधि र सहकार्यमार्फत देशभर स्वच्छ पानीको पहुँच पुर्‍याउने रणनीतिक योजना सार्वजनिक गर्नुभयो। सभामा देशभरका २३ भन्दा बढी जिल्लाबाट पानी उद्योगीहरूको सहभागिता रहेको थियो भने महासचिव ध्रुब प्रसाद अधिकारीले संगठनात्मक प्रतिवेदनमार्फत संस्थागत सुदृढीकरणको खाका पेश गर्नुभएको थियो।

लिम्बु चेम्जोङको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति

साधारण सभाले बिक्रम लिम्बु चेम्जोङको अध्यक्षतामा आगामी तीन वर्षका लागि ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। जसमा ३५ जना निर्वाचित र ४ जना मनोनित रहेका छन्।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकी, महासचिवमा ध्रुब प्रसाद अधिकारी, उप-महासचिवमा रोसा श्रेष्ठ र कोषाध्यक्षमा देव नारायण चौलागाईं निर्वाचित भएका छन् ।

यस्तै, उपाध्यक्षहरूमा रविन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रूपचन्द्र नौलाखा, शाहिल शाह, भुवन प्रसाद लोहनी, सबि कार्की, कृष्ण प्रसाद आचार्य र टेकेन्द्र सिंह कुन्जेडा चयन हुनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*