कृषिमा दृष्टिकोण परिवर्तन र युवा आकर्षण आवश्यक: मन्त्री पौडेल

अखबार हब
२०८२ मंसिर २२, आईतवार २०:५८

हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि कर्मलाई युवामाझ लैजान नसकिएको भन्दै कृषि प्रतिको दृष्टिकोण फेर्न जरुरी रहेको बताउनुभएको छ ।

कृषि उत्पादन भए पनि त्यसको प्रभावकारी बजारीकरण गर्न नसकिएको चुनौती औँल्याउँदै मन्त्री पौडेलले उत्पादन बढाउनुभन्दा पनि उत्पादित वस्तुको ब्राण्डिङमा जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा संसारमा नपाइने विशिष्ट कृषि उत्पादनहरू रहेको र त्यसलाई विश्व बजारमा पुर्‍याउन सके मनग्ये आम्दानी गर्न सकिने बताउँदै यस विषयमा सरकारको ध्यान केन्द्रित भएको जानकारी दिनुभयो ।

हेफर इन्टरनेशनल नेपालद्वारा आयोजित र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको प्राविधिक सहयोगमा आईतवार हेटौंडामा भएको ‘कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यक्रममा सहकार्यको सम्भावना र अवसरबारे सरोकारवालासँगको प्रादेशिक अन्तरक्रिया कार्यक्रम’ मा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री पौडेलले युवालाई कृषिमा आकर्षित गर्नका लागि प्रदेश सरकारले ‘कृषि ज्ञान रत्न’ कार्यक्रम ल्याएको बताउनुभयो । हाल यो कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरिएको भए पनि आवश्यकताअनुसार यसलाई बढाउन सकिने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा बागमती प्रदेशमा कृषि तथा पशुपन्छी क्षेत्रमा कार्यरत साझेदार संस्थाहरूको भूमिका र प्रभावकारिताको समिक्षा गरिएको थियो । छलफलमा हेफर इन्टरनेशनल नेपालका कार्यक्रमहरूलाई प्रादेशिक नीति, रणनीति, योजना, कार्यक्रम र प्राथमिकतासँग कसरी तादम्यता मिलाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो ।

यसका साथै, साझेदारीबाट भविष्यमा अपेक्षित उपलब्धि र सम्भावनाहरूका बारेमा समेत सरोकारवालाहरूबीच गहन विमर्श भएको थियो । कार्यक्रममा हेफर नेपालकी कार्यक्रम निर्देशक सबिना प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*