हेटौँडा सडक विस्तार सुरु: अटेरी गरेपछि डोजर चल्यो
हेटौँडा । लामो समयदेखि विवादित बनेको हेटौँडाको सडक विस्तार योजना अन्ततः शनिवारबाट सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले स्थानीय प्रशासन र बाक्लो सुरक्षाकर्मीको सहयोगमा मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहराहरू भत्काउन थालेको हो।
कार्यालयले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म दुबैतर्फ २५/२५ गज (७५/७५ फिट) सडक सीमा कायम गर्नका लागि संरचना हटाउने काम सुरु गरेको जनाएको छ।
गत मंसिर ५ गते सडक डिभिजनले १५ दिने अल्टिमेटमसहित सार्वजनिक सूचना जारी गरेको थियो। तर, अल्टिमेटमको अन्तिम दिनसम्म पनि घरधनी तथा व्यवसायीहरूले स्वेच्छिक रूपमा संरचना नहटाएपछि डिभिजन कार्यालय आफैंले जबर्जस्ती हटाउन थालेको हो।
शनिवार बिहानैबाट सडक डिभिजनका झण्डै ६/७ वटा डोजर र स्काभेटर परिचालन गरी बुद्धचोकदेखि सिमाचोक क्षेत्रमा रहेका घरहरू भत्काउने काम भइरहेको छ। बजारका अन्य तीन–चार स्थानबाट पनि एकैपटक विस्तार कार्य थालिएको छ।
सडक विस्तारबाट प्रभावित घरधनी तथा व्यवसायीहरूले भने मुआब्जा र क्षतिपूर्ति माग गर्दै सुरुदेखि नै यसको विरोध गर्दै आएका छन् र प्रतिकार गर्ने चेतावनी दिएका थिए। यद्यपि, केही सीमित परिवारले भने घर खाली गरेर सामान सारिसकेका छन्।







