हेटौंडामा चलचित्र ‘ह्याङ तामाङ’ को विशेष प्रिमियर हुँदै
हेटौंडा । तामाङ समुदायको मौलिकता मात्र नभई, नेपालका विविध सांस्कृतिक पहिचानबीच संवाद र सहअस्तित्वको सन्देश बोकेको चलचित्र ‘ह्याङ तामाङ’ आगामी मंसिर २० गते हेटौंडामा विशेष प्रिमियरमार्फत सार्वजनिक हुँदैछ।
शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टोलीले चलचित्रलाई कुनै एक जातिको कथा भन्दापनि सांस्कृतिक बहुलताको प्रतिनिधि कृति बनाउन खोजिएको बताए । उनीहरुका अनुसार नेपालभरि फैलिएको तामाङ समुदायका संस्कृति, भाषा र जीवनशैलीलाई आधार बनाइएपनि सबै समुदायले आत्मीय रूपमा आत्मसात गर्न सक्ने सार्वभौमिक सन्देश चलचित्रले दिन खोजेको छ ।
ओम्याक्स सिनेमामा आयोजना हुने चलचित्रले सांस्कृतिक जरा र आधुनिक जीवनबीचको संघर्षलाई चलचित्रले सूक्ष्म रुपमा उठाएको निर्माण टोलीले बताए ।
मुख्य कलाकार सिताराम गोलेका अनुसार चलचित्रमा तामाङ परम्परागत मूल्य, आधुनिक समाजमा देखिएका नयाँ चुनौती, राजनीतिक परिवर्तनले ल्याएको प्रभाव र युवा पात्रहरुको अन्तरद्वन्द्वलाई विशेष स्थान दिइएको छ । ‘यो केवल मनोरञ्जनका लागि बनाइएको फिल्म होइन, संस्कृतिसँगको सम्बन्ध कति बलियो र संवेदनशील हुन्छ भन्ने कुरालाई दर्शकले महसुस गर्नेछन्,’ उनले भने ।
चलचित्रले भौगोलिक विविधताको सौन्दर्यमार्फत पनि कथा बोल्ने प्रयास गरेको नायक जय स्याङ्तानले बताए । काठमाडौंदेखि मनाङसम्मका दृश्यहरूले नेपालकै सांस्कृतिक विविधता चलचित्रमार्फत देखिने उनको भनाइ छ ।
निर्देशक प्रवल लामा र सहनिर्देशक निमा लामाको निर्देशनमा तयार भएको ‘ह्याङ तामाङ’ ले जातीय पहिचानको विषयलाई केन्द्रीकृत गरे पनि सामूहिक बन्धन, सामाजिक रूपान्तरण र मानवीय सम्बन्धको कथा सबै दर्शकका लागि समान रूपमा प्रस्तुत गर्ने निर्माण पक्षले दाबी गरेको छ।
चलचित्र टोलीले हेटौंडाका दर्शकलाई पहिलो प्रदर्शनका लागि हलमै आएर समर्थन गर्न आग्रह गर्दै, सांस्कृतिक कथालाई फिल्ममार्फत व्याख्या गर्ने आफ्नो प्रयासलाई सबै समुदायले स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् ।







