हेटौँडा उपमहानगरपालिकाको बजेट खर्च सुस्त, पुँजीगत खर्च झन् न्यून
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च दर सुस्त देखिएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१/८२ को आठ महिनामा ३३.६५ मात्र प्रतिशत बजेट खर्च गरेको हो ।
संशोधनसहितको कुल २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको उपमहानगरले हालसम्म ८५ करोड २ लाख ६७ हजार ७७७ रुपैयाँमात्र खर्च भएको छ ।
चालू खर्च उच्च, पुँजीगत खर्च न्यून
उपमहानगरको पुँजीगत खर्चभन्दा चालू खर्च अत्यधिक देखिएको छ। आठ महिनामा चालू खर्चतर्फ ७० करोड १२ लाख ५४ हजार १४८ रुपैयाँ अर्थात ४१.८१ प्रतिशत खर्च भएको छ। तर, पुँजीगततर्फ खर्च निकै न्यून १४ करोड ५० लाख ३९ हजार ९२२ रुपैयाँ अर्थात १७.२८ प्रतिशत मात्र खर्च भएको छ ।
वित्तीय व्यवस्थापनतर्फ भने ३९ लाख ७३ हजार ७०६ रुपैयाँ अर्थात ३९.७४ प्रतिशत खर्च भएको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए।
राजस्व संकलनको अवस्था
उपमहानगरपालिकाले विभिन्न श्रोतबाट राजस्व संकलन गरेको छ। प्रशासनिक दण्ड, जरिवाना र जफतबाट २० लाख रुपैयाँ, धरौटीबाट २० हजार, अन्य राजस्व स्रोतबाट २ लाख ५० हजार, तथा १ करोड ६३ लाख ९९ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, बेरुजुबाट ३ लाख, बैंक मौज्दातबाट १७ करोड ६० लाख तथा अन्य संस्थाबाट प्राप्त ३ करोड ६० लाख रुपैयाँ नगरपालिकाले संकलन गरेको छ।
उपमहानगरको पुँजीगत खर्च प्रभावकारी नहुँदा विकास निर्माणका योजनाहरूले गति लिन सकेका छैनन्।







