यी ७ सांसद जो बागमती प्रदेशसभाको पहिलो प्रवेशमै मन्त्री बने

अखबार हब
२०७९ माघ ११, बुधबार १६:१९

मकवानपुर । बागमती प्रदेशमा वर्तमान सरकारको नेतृत्व माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले गरिरहेका छन् । उनले आज बुधवार थप ८ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिए ।

नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको गबठन्धन सरकारमा मुख्यमन्त्रीसहित कुल ११ मन्त्री छन् । जसमध्ये ७ जनाले प्रदेशसभाको पहिलो प्रवेशमै मन्त्री हुने अवसर पाए । पहिलो पटकमै मन्त्री हुने तीनवटै दलका छन् ।

प्रदेशसभा प्रवेशको पहिलो पटकमै मन्त्री हुनेमा एमालेका जगन्नाथ थपलिया, एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गंगा नारायण श्रेष्ठ छन् । यसैगरी, राप्रपाका तीन जना मन्त्रीहरू उद्धव थापा, राजु विष्ट र डम्बर तामाङ पनि पहिलो पटकमै मन्त्री बने ।

थपलिया प्रदेशसभाको अघिल्लो कार्यकालका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए ।

उनले गत ४ मंसिरमा प्रतिनिधिसभा निर्वाचन लड्न खोजे पनि सुरेन्द्र पाण्डेले टिकट ल्याएपछि प्रदेशसभामा झरेका थिए । प्रदेशमा निर्वाचन जित्दा उनलाई आर्थिक मामिला तथा योजनामन्त्री हात लाग्यो । बागतीमा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने गठबन्धनको भागवण्डाअनुसार थपलिया मुख्यमन्त्रीका दाबेदार हुन् ।

पहिलोपटक प्रदेशसभामा आएका एमाले मकवानपुरका अध्यक्षसमेत रहेका एकालाल श्रेष्ठ र ललितपुरका सांसद रामेश्वर श्रेष्ठ क्रमशः श्रम, रोजगार तथा यातायातमन्त्री र स्वास्थ्यमन्त्री बनेका छन् । माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका सिन्धुलीका गंगानारायण श्रेष्ठ पहिलो पटकमै प्रदेशको दोस्रो वरियताको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।

प्रदेशको राजनीतिमा रोचक राप्रपाको सरकार प्रवेशलाई लिन सकिन्छ । राप्रपासँग अघिल्लो कार्यकालमा दुई जना महिला समानुपातिक सांसद मात्रै थिए । निवर्तमान सांसद चितवनकी रिना गुरुङ र रामेछापकी रिता माझी हुन् । गरुङ राप्रपामै छिन् भने माझी कमल थापा नेतृत्वको राप्रपा नेपाल तिर लागिसकेकी छन् ।

राप्रपासँग यसपालि १३ जना सांसद छन् । जुन, बागमतीमा सरकार गठनका लागि निर्णायक हो । बागमतीमा १ सय १० सदस्यीय प्रदेशसभा छ । ४ मंसिरको प्रदेशसभा निर्वाचनबाट राप्रपाले १३ सिट जित्दा सरकारको मुख्यमन्त्रीमै दाबी गरेको थियो । मुख्यमन्त्रीमा दाबी गरेका राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापा अन्ततः खानेपानी, उर्जा तथा सिँचाईमन्त्री बनेका छन् ।

धादिङबाट चुनाव जितेका राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारीमन्त्री र काठमाडौंका राप्रपा सांसद राजु विष्ट वन तथा वातावरणमन्त्री बने ।

यसैगरी, वर्तमान सरकारमा चार जना मन्त्री पुनः दोहोरिएका छन् । अघिल्लो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री रहेको जम्मकट्टेल हाल मुख्यमन्त्री छन् । माओवादीकै कुमारी मुक्तान पुनः सामाजिक विकास मन्त्रालय र अघिल्लो कार्यकालमा सामाजिक विकासमन्त्री रहेका युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री बने ।

कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका एमालेका केशव प्रसाद पोखरेल भने यसअघि प्रदेशसभाको एक समिति सभापति थिए । प्रदेशसभा प्रवेश गरेको दोस्रो प्रयासमा मात्रै उनी मन्त्री बनेका हुन् । शिलापत्र बाट साभार

यसमा तपाइको मत

Your email address will not be published.


*