३ वटा मन्त्रालय गाभ्न मुख्यमन्त्री जम्कट्टेललाई कार्यदलको सुझाव

अखबार हब
२०७९ माघ १०, मंगलवार १६:०८

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउनको लागि संख्या निर्धारण गर्न बनेको कार्यदलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनका लागि १५ दिने समय सीमा तोकेर पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेलगत्तै मुख्यसचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो ।

कार्यदलले हाल कायम रहेको १४ मन्त्रालयबाट ३ वटा मन्त्रालय गाभेर ११ मन्त्रालय बनाउनु पर्ने सुझावसहितको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको हो ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले कार्यदलले पेश गरेअनुसार अब प्रदेशमा ११ मन्त्रालय हुने बताए । आजैको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनले पेश गरेअनुसार ११ मन्त्रालय कायम गर्ने निर्णय गर्ने उनको भनाई रहेको छ ।

कार्यदलले युवा तथा खेलकुद मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय गाभ्नुपर्ने सुझाव दिएको छ ।

कार्यदलको प्रतिवेदनमा साविकको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई तीन टुक्रा पारिएको छ । भूमि व्यवस्थालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा, सहकारीलाइ उधोग वाणिज्य मन्त्रालयमा र गरिबी निवारणलाई सामाजिक विकास मन्त्रालय गाभिएको छ ।

पर्यटन तथा संस्कृति मन्त्रालयलाई उधोग वाणिज्य मन्त्रालयमा गाभिएको छ । यसैगरी, युवा तथा खेलकुद मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा लगिएको छ । अब जिल्लास्थित घरेलु तथा साना उधोग कार्यालयबाट सहकारीसम्बन्धी काम अगाडि बढाइने कार्यदलका संयोजक तथा बागमतीका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिए ।

समितिले मुख्यमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रमरोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय कायम भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*