१९ वर्षीया आमाको रहस्यमय मृत्यु

अखबार हब
२०७९ माघ ६, शुक्रबार १०:५८

ओखलढुंगा । लामो समय सम्पर्कहीन भएर माइती आएको एक महिनामै सिद्धिचरण नगरपालिकाकी १९ वर्षीया कल्पना माझीको रहस्यमय मृत्यु भएको छ । उनी ८ महिने छोराकी आमासमेत हुन् । बिहेपछि सम्पर्कमा नआएकी उनी छोरासहित २२ मंसिरमा मूलघाटस्थित माइत आएकी थिइन् । जिल्लाको मिसन अस्पतालमा २१ पुसमा उनको मृत्यु भएको हो ।

कल्पनाले दुई महिनाअघि आफू बिरामी भएको र ज्वाइँले नहेरेकाले पैसा पठाइदिनू भन्दै आमा कुमारीलाई फोन गरेकी थिइन् । आफूले सयकडा तीन रुपैयाँले ब्याजमा १० हजार ऋण खोजेर पठाइदिएको कुमारीको भनाइ छ । माइती आउनुअघि कल्पना कहाँ थिइन् र उनको स्वास्थ्यमा कस्ता जटिलता थिए भन्ने कुनै जानकारी परिवारलाई छैन । बिरामी अवस्थामा माइतीको शरणमा आए पनि विपन्न र निरक्षर माइतीले अन्धविश्वासको भर परेर धामीझाँक्री गर्दा स्वास्थ्य झनै जटिल बन्दै मृत्युसम्म पुगेको स्थानीय बताउँछन् ।

कमानसिं र कुमारी दम्पतीले कान्छी छोरी कल्पनालाई घरदेखि दुई घण्टाको दूरीमा रहेको निशंखेमा बसेर प्लस टु पढ्ने चाँजो मिलाएका थिए । प्लस टु नसकिँदै उनी काठमाडौंमा श्रम गरी बस्ने कैलाश कटवालसँग फेसबुकमार्फत प्रेममा परेकी थिइन् । दुई वर्षअघि पढाइ अधुरै छाडेर उनले भागी बिहे गरिन् । त्यसपछि नै उनी माइतीको सम्पर्कमा थिइनन् । अचानक माइत आउँदा उनको स्वास्थ्य ठीक थिएन । ‘गाडीबाट झर्दा खुट्टा राम्रोसँग टेक्न सक्ने थिइनँ,’ आमा कुमारीले भनिन्, ‘डोर्‍याएर झारें । के भएको भनेर सोध्दा सुत्केरी हुँदा ज्वाइँले कुटेर बिरामी भएको भनिन् ।’

मूलघाटमा माझी समुदायका सात घर छन् । तीमध्ये कुमारीसहितका ६ घर अति विपन्न हुन् । दुई रोपनी पाखो खरबारीका भरमा जीविकोपार्जन गरिरहेकी कुमारीले छोरीले भनेअनुसार झन्डै २० हजार खर्चेर धामीझाँक्री गरिन् । तर एक दिन असाध्यै च्यापेपछि अस्पताल पुर्‍याएको दुई घण्टामै उनको मृत्यु भयो । माइतीमा हुँदा उनलाई जे खाए पनि लगातार बान्ता हुन्थ्यो, पखाला चलिरहन्थ्यो । ‘अस्पताल लैजाने पैसा पनि थिएन,’ बुबा कमानसिंले भने, ‘गरिब भएकैले छोरी गुमाइयो ।’ छिमेकी नेत्र घिमिरेका अनुसार कल्पना काठमाडौंबाट आउँदा नै निकै दुब्लाइसकेकी थिइन् ।

मिसन अस्पतालका चिकित्सक कल्पनाको मृत्युमा कुपोषण जिम्मेवार भएको हुन सक्ने अनुमान गर्छन् । तर स्वास्थ्य परीक्षणको प्रक्रिया सुरु नभई मृत्यु भएकाले उनको मेडिकल हिस्ट्री अस्पतालसँग छैन ।

कल्पनाको मृत्युपछि ज्वाइँको खोजी गर्दा नयाँ तथ्य फेला परेका छन् । काठमाडौं बस्ने सिन्धुलीको सुनकोसी गाउँपालिका–७ च्यानमका कैलाश प्रशासनले बोलाएपछि जिल्ला आए । तर कल्पनाले भनेजस्तो आफूले कुटपिट नगरेको उनको भनाइ छ । बरु उनले कल्पना लामो समयदेखि आफूसँग नरहेको बताएका छन् । ‘२०७८ मंसिर २२ मा उनलाई जापान पठाउन एयरपोर्टमै बिदाइ गरेर फर्किएको हुँ । त्यसपछि उनीसँग म्यासेन्जरमा मात्रै कुरा हुन्थ्यो, जापानमै छु भन्थिन्,’ कैलाशले भने, ‘छोरा जन्मिएको कुरा पनि ५ महिनापछि मात्रै थाहा पाएको हुँ ।’ घटनाको चार–पाँच दिनअघि मात्रै सासूले फोन गरेर कल्पना बिरामी भएको सुनाउँदा आफू छक्क परेको उनले बताए । कल्पनालाई कुनै आपराधिक समूहले प्रयोग गरेको हो कि भनेर आफूलाई शंका लागेको उनको भनाइ छ । ‘कहिले बिरामी भएको त कहिले शल्यक्रिया गरेकाले पैसा चाहिएको भन्दै पैसा माग्थिन् । त्यसरी पैसा माग्न उनलाई अरू कसैले पो लगायो कि रु’ उनले भने, ‘फेसबुक म्यासेन्जरमा आएर कल्पनाको माइजू हुँ, दिदी हुँ भन्दै अरू मान्छेले पैसा मागेको प्रमाण मसँग छ ।’

सिद्धिचरण–१ का अध्यक्ष तीर्थ घिमिरेले जापान जान वडाको सिफारिस चाहिने भन्दै कल्पना एक पटक आएको बताउँछन् । ‘केटाकेटीको सम्बन्ध नाटकीय र शंकास्पद देखिन्छ,’ उनले भने, ‘कहिले केटाले विदेशमा छु भनेर सम्पर्क गरेको देखिन्छ, कहिले केटी जापान गएको भन्ने सुनिन्छ । वास्तविकता कसैलाई थाहा छैन ।’

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले किशोरीको मृत्यु हुनुमा घर (केटा) तर्फकै कमजोरी भएको अनुमानका आधारमा छोरा मावली हजुरआमासँगै रहने गरी जिम्मा लगाएको बताए । तर विपन्न दम्पतीसँग नातिलाई खुवाउने पोषणयुक्त खानेकुराकै अभाव देखिन्छ । यो अभाव टार्न वडाध्यक्ष घिमिरेले एउटा दुहुनो गाई किनेर दिएका छन् । सिद्धिचरण–१२ का वडाध्यक्ष उमंग श्रेष्ठको नेतृत्वमा सहयोग रकम संकलन गरी १८ हजार ७ सय १० रुपैयाँ र नगरपालिकाका मेयर तेजेन्द्र खनालले १० हजार दम्पतीलाई शिशु स्याहारमा खर्च गर्न भन्दै उपलब्ध गराए । कान्तिपुरबाट सभार

यसमा तपाइको मत

Your email address will not be published.


*