एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने

अखबार हब
२०७९ माघ ४, बुधबार ११:५०

काठमाडौँ । नेकपा (एमाले) ले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ।

आज १ बजे घिमिरेको उम्मेदवारी दर्ता हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।

‘अहिले अध्यक्षबाट घिमिरेलाई बनाउने खबर आयो,’ उनले भने,‘आज १ बजे उम्मेदवारी दर्ता हुन्छ।’

२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा–२ बाट निर्वाचित भएका हुन्।

उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत हुन्।

नेकपा एमालेमा घिमिरे कमैमात्र अवसर पाएका नेताका रूपमा चिनिन्छन्।

ताप्लेजुङमा जन्मिएका घिमिरे निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका हुन्। ताप्लेजुङबाट झापामा बसाइसराइ गरेको घिमिरे परिवार अहिले पनि बिर्तामोडमा भाडाको घरमा बस्दै आएको छ। उनको बुवा आमाबाट जन्मिएका १२ छोराछोरीमध्ये घिमिरे माइलो हुन्। घिमिरेकी श्रीमती टीकादेवी बस्नेत भने रिटार्यड शिक्षिका हुन्।

२०३२ सालबाट राजनीतिमा प्रवेश गरेका घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको मात्र अध्ययन गरेका छन्। काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए पनि उनले बुर्जुवा शिक्षा बहिष्कार गर्ने भन्दै बीचमै पढाइ छाडेका थिए।

उनी माले र नेकपा एकीकृतको एकीरणपछि २०४९ सालमा भएको पाँचौ महाधिवेशनबाट बनेको एमालेको केन्द्रीय सदस्य बनेका थिए।

घिमिरे २०५३ सालमा महाकाली सन्धी पारित गर्ने नगर्ने विषयमा नेकपा एमालेमा मतदानका बेला चर्चामा आएका थिए। त्यतिबेला घिमिरेले वैकल्पिक केन्द्रीय सदस्य भएपनि मतदानमा भाग लिएर सन्धीको पक्षमा मत दिएका थिए।

ुमनमोहन अधिकारी बिरामी भएर मतदानमा उपस्थित हुन नसकेपछि वैकल्पिक केन्द्रीय सदस्यका रुपमा उहाँले पार्टीको बैठकमा मत खसाल्नु भएको थियोु, घिमिरेका स्वकीय सचिव केशव ढुङ्गेलले भने, ुत्यतिबेला विधानमा केन्द्रीय सदस्य नभएको बेला वैकल्पिक सदस्यले मत हाल्न पाउने व्यवस्था थियो।

महाकाली सन्धीका कारण उत्पन्न विवादपछि नेकपा एमाले विभाजित समेत हुन पुगेको थियो।

२०७८ मा एमालेको दशौं महाधिवेशनदबाट उनी पार्टीको स्थायी कमिटी सदस्य रहेका छन्। उनले मदन भण्डारी फाउन्डेशनको कार्यालय प्रमुख भएर फाउन्डेशनको विस्तार समेत गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*