प्रभावकारी बन्दै आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सेवा

अखबार हब
२०७९ पुष १९, मंगलवार १६:१६

मकवानपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सेवा प्रभावकारी बन्दै गएको छ । बिरामीले बिशेषज्ञसहितको सेवा पाउन थालेसँगै सेवा प्रभावकारी बन्दै गएको हो । हेटौंडा–२ मा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले सेवाको प्रवर्धनका विषयमा आज मकवानपुरका पत्रकारसँग अन्तरक्रिया गर्दै यसका विषयमा जानकरी गराएको हो ।

केन्द्रमा धेरै खालका उपचार गरिने र औषधि समेत वितरण हुँदै आएको केन्द्रका प्रमुख तथा आयुरर्वेद चिकित्सक ललिता पाण्डेले बताईन् । पहिलेको तुलनामा विरामीहरुमा पनि चासो बढेको र सेवा पनि प्रभावकारी भएको कारण सेवाग्रागीको सँख्यामासमेत बृद्धि भएको उनले जानकारी दिइन् ।

अन्तरक्रियामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधीको महत्व र प्रयोग विधिबारे जनतालाई स्पष्ट तरिकाले बुझाउनुपर्ने बताए । आयुर्वेदबारे संस्कृत भाषा उल्लेखित हुने भएकाले केही शब्द नबुझ्ने र प्रयोग गर्न पनि नजान्ने हुँदा यसलाई बुझ्ने भाषामा उल्लेख गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले आयुरर्वेद औषधालयहरुलाई प्रभावकारी बनाउनका लागि बजेट समेत थप गरेर काम गरिदै आएको जानकारी दिएका छन् ।

जिल्ला आयुर्वेदबाट अहिले बहिरंग सेवा, निशुल्क परामर्श सेवा, सशुल्क फार्मेसी सेवा, ल्याब, फिजियोथेरापी र ज्येष्ठ नागरिक सेवा प्रवाह गरिरहेको उनले बताए । जिल्ला आयुर्वेदले अहिले बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपािलका र हेटौंडा उपमहानगरपालिकामा सेवा दिइरहेको उनले जनाए ।

कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर व्यववस्थापन समितिका अध्यक्ष मधु बजगाईं क्षेत्रीको सभाध्यक्षमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*