बागमतीमा सरकार बनाउन गठबन्धनलाई पर्याप्त मत

अखबार हब
२०७९ मंसिर १३, मंगलवार ११:१०

मकवानपुर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेसँगै बागमती प्रदेशमा कांग्रेस पहिलो दल बन्ने भएको छ । दोलखाबाहेक १२ जिल्लामा मतगणना सम्पन्न हुँदा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ ।

माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा (एकीकृत समाजवादी) ले ५, हाम्रो नेपाली पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले १ स्थानमा विजय हासिल गरेका छन् ।

बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको हो । ४४ सामानुपतिकसहित प्रदेशसभामा १ सय १० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।

समानुपातिकतर्फको पूरा मत गनिसकेपछि मात्रै सांसदको संख्या टुंगो लाग्ने र सदनको दोस्रो र तेस्रो ठूलो दल को बन्ने भन्ने निश्चित हुनेछ । हालसम्म समानुपातिकतर्फ पहिलो स्थानमा रहेका कारण एमाले दोस्रो दलको हैसियतमा प्रदेशसभामा रहने देखिन्छ । गत निर्वाचनमा २ सिटमा सीमित राप्रपाले यसपटक आकार बढाएको छ । यसअघिका २ सांसद पनि समानुपातिक मतबाट छनोट भएका थिए । अहिले राप्रपाका ५ जना उम्मेदवार प्रत्यक्षबाटै निर्वाचित भइसकेका छन् । यसबाहेक, हाम्रो नेपाली पार्टीले १ सिटमा विजयी हुँदै नयाँ दलका रूपमा सदनमा प्रवेश पाएको छ ।

हाल सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ जितेको सांसदको हालसम्मको (दोलखाबाहेक) संख्या ४३ पुगेको छ । सरकार बनाउन ५६ सिट भए पुग्छ । समानुपातिकबाट १३ सिट सहजै पुग्ने भएकाले गठबन्धनकै सरकार निर्माण हुने निश्चित जस्तै छ ।

प्रदेशसभामा निर्वाचित सांसदहरूमा केही पुरानै अनुहार दोहोरिए पनि अधिकांश नयाँ छन् । केही सांसदले दोहोरिएर उम्मेदवार बने पनि पराजय भोग्दै दोस्रो पटक सदनमा प्रवेश पाउन यसपल्टलाई विराम लागेको छ । प्रदेशका बहालवाला मन्त्री तथा पूर्वमन्त्रीहरूमध्ये पनि केही मात्रै विजयी हुन सकेका छन् । निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ काठमाडौंमा राप्रपाका सुनील केसीसँग पराजित भए । श्रेष्ठलाई एमालेले भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । उपसभामुख राधिका तामाङ भने नुवाकोटबाट पुनः निर्वाचित भएकी छन् ।

मन्त्रीहरू माओवादीका रत्नप्रसाद ढकाल, कुमारी मोक्तान, शालिकराम जम्मकट्टेल पुनः निर्वाचित हुँदा श्रम तथा यातायातमन्त्री रहेका माओवादीकै घनश्याम दाहाल भने चितवनमा पराजित भए । पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललाई पनि पुनः सदनमा देख्न सकिने भएको छ । जम्मकट्टेललाई माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ । उनी यसअघि प्रदेशमा दुई पटक मन्त्री भइसकेका छन् । मन्त्रीमा कांग्रेसबाट टिकट पाउनेमा दीपेन्द्र श्रेष्ठ मात्रै थिए । उनी पुनः निर्वाचित भएका छन् । कांग्रेसले यसअघि समानुपातिकबाट सांसद भएकाहरूको नामसमेत बन्द सूचीमा समावेश गरेको छैन । जसका कारण कांग्रेसबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्ने सबै नयाँ अनुहार हुनेछन् ।

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरबाट निर्वाचित हुँदै मुख्यमन्त्रीका रूपमा आफ्नो दाबेदारी यसपटक पनि प्रस्तुत गरेका छन् । यसअघि आलोपालो सरकारको नेतृत्व गर्ने सत्ता गठबन्धनभित्र लिखित सहमति भए पनि उनी मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । जसका कारण यसपल्ट उनलाई मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको हो । उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् । एकीकृत समाजवादीबाट मन्त्री बनेका कृष्णप्रसाद शर्मा खनाल र वसन्तप्रसाद मानन्धर पनि पुनः निर्वाचित भएका छन् ।

यस दलबाट अन्य मन्त्री तथा राज्यमन्त्रीहरू उम्मेदवार बनेनन् । मुख्यमन्त्री एवं एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे भने प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पूर्वमुख्यमन्त्रीद्वय डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य चुनावी मैदानमै उत्रिएनन् । एमालेबाट प्रदेशसभामा मन्त्री भएका रामेश्वर फुयाँल प्रदेशमा, कैलाशप्रसाद ढुंगेल र सरेश नेपाल प्रतिनिधिसभामा पराजित भए । चितवनबाट सांसद भएका जगन्नाथ थपलिया प्रदेशमा एमाले संसदीय दलको नेता हुने सम्भावना रहेको उनीनिकट नेताहरू दाबी गर्छन् । यसअघि प्रदेशसभामा मुख्य सचेतक रहेका एमालेका दीपक निरौला पराजित हुँदा कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, प्रभात तामाङ, एकीकृत समाजवादीकी रमा आलेमगर, नेमकिपाका सुरेन्द्रराज गोसाईं भने पुनः निर्वाचित भएका छन् । छिरिङ, प्रभात, रमा र सुरेन्द्र अघिल्लो पटक पनि प्रत्यक्षबाटै निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*