बागमती प्रदेशको मुख्यमन्त्री बन्न सक्ने सम्भावित अनुहार

अखबार हब
२०७९ मंसिर १०, शनिबार १८:३९

मकवानपुर । मतगणना अन्तिम चरणमा रहेसँगै सरकार गठनबारे पनि चर्चा सुरु भइसकेको छ । बागमती प्रदेश सरकारमा सरकार कसको बन्ने र नेतृत्व कसले गर्ने भन्नेबारे चर्चा भइरहेको छ । बागमतीमा १३ वटा जिल्ला छन् । जसमध्ये उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सांसदहरूको संख्याले सरकार गठनमा निर्णायक भूमिका खेल्छ । यो प्रदेशमा उपत्यकासहित मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलाखा, रामेछाप र सिन्धुली जिल्ला पर्छन् ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५६ सांसद आवश्यक पर्छ । अघिल्लो कार्यकालमा तत्कालीन नेकपाको स्पष्ट बहुमत थियो । सर्वोच्च अदालतको आदेशबाट नेकपा फुटेपछि पनि एमालेले एकल बहुमतको सरकार बनाएको थियो । तर, एमाले नै विभाजन भएपछि भने साढे ३ वर्ष लामो सरकार बर्हिगमनमा परेको थियो । त्यसपछि हालकै सत्ता गठबन्धनले प्रदेशमा सरकार बनाएको थियो ।

हालसम्मको प्राप्त मतपरिणामअनुसार बागमतीमा स्पष्ट बहुमत कुनै दलको आउने देखिँदैन । जसका कारण गठबन्धन सरकार निर्माण हुने पक्का छ । अन्तिम परिणाम नआइसकेकाले बागमती प्रदेशसभाको ठूलो दल नेकपा एमाले वा नेपाली कांग्रेस को बन्छ भन्ने यकिन भने भएको छैन । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हुने देखिएको छ । अघिल्लो कार्यकालमा एमालेसँगको सहकार्यमा निर्वाचन लडेकाले माओवादी केन्द्र एक सिट बढी हुँदा दोस्रो ठूलो दल थियो ।

विगतको तुलनामा राप्रपाका सांसद संख्या बढ्ने देखिएको छ भने नेकपा एकीकृत समाजवादीको सांसद संख्या घट्नेछ । यसअघि एकीकृत समाजवादीसँग १३ जना सांसद थिए । राप्रपासँग समानुपातिक कोटाका दुई सांसद थिए ।

राप्रपाले प्रदेशसभा सदस्यमा प्रत्यक्ष सिटसमेत जितेको छ । समानुपातिकका अघिल्लो निर्वाचनमाभन्दा मत बढी ल्याएको अवस्थामा अझै सांसद संख्या बढ्ने देखिएको हो । जसकारण बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको वा एमाले–राप्रपा मध्ये कसको संयुक्त सरकार बन्छ भन्ने टुंगो लागिसकेको छैन ।

तर, बागमतीको भावी मुख्यमन्त्रीका अनुहार भने देखिएका छन् । हालकै सत्ता गठबन्धनले सरकार बनाउन सकेमा तीन जनाको नाम अगाडि आएको छ । नेपाली कांग्रेसबाट पार्टी प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रबाट हालका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल र एकीकृत समाजवादीबाट हालका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनाल दाबेदार हुन् । यी तीनमध्ये को मुख्यमन्त्री हुने भन्ने विषय गठबन्धनको भागवण्डासँग जोडिएको छ ।

यसैगरी, एमाले गठबन्धनको सरकार हुँदा चितवनबाट निर्वाचित जगन्नाथ थपलिया (जेएन) मुख्यमन्त्रीका दाबेदार हुन् । उनले यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरिसकेका छन् । एमालेबाट चार जना मुख्यमन्त्रीका दाबेदार निर्वाचनमा होमिएका थिए । चितवनबाटै थपलियासहित देवी ज्ञवाली, काठमाडौंबाट निवर्तमान सभामुखसमेत रहेका सानुकुमार श्रेष्ठ र नुवाकोटबाट पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत भइसकेका पार्टी प्रदेश कमिटी अध्यक्ष केशवप्रसाद पाण्डे निर्वाचन लडेका थिए ।

तर, यी मुख्यमन्त्रीका दाबेदार चार जनामध्ये चितवनका थपलिया मात्रै निर्वाचित भए । काठमाडौंका श्रेष्ठ राप्रपाका उम्मेदवारसँगै पराजित भएका थिए । उनले आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै आएका थिए । शिलापत्रबाट साभार

यसमा तपाइको मत

Your email address will not be published.


*