मकवानपुरमा निर्वाचन तयारी पुरा, मतगणनास्थलमा सीसी क्यामेरा र तारजाली

अखबार हब
२०७९ मंसिर ३, शनिबार २०:०६

मकवानपुर । मकवानपुरमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा मतदान केन्द्रहरूको निर्माण गरी सकिएको छ ।

१ मंसिरमा जिल्लास्थित ३६६ वटै मतदान केन्द्रमा कर्मचारीहरू खटिएका थिए । शुक्रबारदेखि मतदान केन्द्रहरूमा गाउँमै उपलब्ध बाँस, डोरीलगायतले मतदान केन्द्रहरूमा छेकबार लगाउने कार्य गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचनको तयारी सकिएको बताए । उनले जिल्लाका १६७ वटा मतदानस्थल र ३६६ वटा मतदान केन्द्रमा सबै प्रकारका निर्वाचन सामग्री पुगेर मतदानका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाको १३ वटा, मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा रहेका मतदान केन्द्रहरुमा शुक्रबारसम्म मतपत्र भने पुगेको थिएन । उक्त स्थानका मतदान केन्द्रमा पनि शनिबार मतपत्र पुगेको छ ।

मतदान केन्द्रहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ३ हजारभन्दा बढी सुरक्षाकर्मीहरू खटिएका छन् । शिक्षकसहित ३ हजारभन्दा बढी कर्मचारीसमेत खटिएका छन् । जिल्लाका १९ वटा अति संवेदनशील र ६० वटा संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा निगरानी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।

आइतबार मतदान सकिएपछि राति १ बजेभित्र सदरमुकाम हेटौँडामा सबै मतपेटिकाहरू ल्याइसक्ने तयारीमा निर्वाचन अधिकृतको कार्यालय लागेको छ । मतपेटिकाहरू हेटौँडा उपमहानगरपालिका–२, स्थित सिदार्थ माध्यमिक विद्यालयमा ल्याइने छ ।

जिल्लाको दुई वटा प्रतिनिधिसभा क्षेत्र र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना सिदार्थ माविबाटै हुनेछ । मतगणनास्थलमा तारजाली, सीसी क्यामेरासहितको सुरक्षा प्रबन्ध मिलाइएको छ ।

मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६० जना भन्दा बढी उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् । मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*