संसद छिर्न २ दम्पती प्रत्यक्षमा भिड्दै, अरू को को छन् ?

अखबार हब
२०७९ आश्विन २८, शुक्रबार १०:३८

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट आठ दम्पतीले संसद छिर्ने तयारी गरेका छन्।

२ दम्पतीले प्रत्यक्षतर्फ टिकट पाएका छन् भने बाँकी ६ का श्रीमान् प्रत्यक्षतर्फ र श्रीमती समानुपातिक बन्दसूचीमा छन्।

प्रत्यक्षतर्फ चुनावी मैदानमा रहेका दम्पती माओवादी केन्द्र र एमालेका हुन्। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट चुनावी मैदानमा छन् भने उनकी श्रीमती ओनसरी घर्तीले काठमाडौं २ बाट प्रतिस्पर्धा गर्दैछिन्।

यस्तै नेकपा एमालेका रघुवीर महासेठ धनुषा ४ बाट चुनावी प्रतिस्पर्धामा छन् भने उनकी श्रीमती जुलीकुमारी महतो धनुषा ३ बाट उठेकी छिन्।

यता, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट उठेका छन् भने श्रीमती आरजु राणा देउवा समानुपातिकको बन्द सूचीमा छिन्। कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको विवरण अनुसार राणाको नाम खस आर्य महिलातर्फ तेस्रो नम्बरमा छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाण रूपन्देही ३ बाट प्रत्यक्ष लड्दैछन् भने उनकी श्रीमती मञ्जु खाण समानुपातिक सूचीमा छिन्। खस आर्य महिला समूहको उनी छैठौं नम्बरमा छन्।

यस्तै, शिक्षामन्त्री रहेका माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बागलुङ २ बाट चुनावी मैदानमा छन्। उनकी श्रीमती बलावती शर्मा समानुपातिक सूचीमा छिन्। उनको नाम खस आर्य महिला समूहको सातौँ नम्बरमा छ।

यस्तै, खेलकुद मन्त्रीसमेत रहेका माओवादी केन्द्रका महेश्वर गहतराज बाँकेबाट चुनावी मैदानमा छन्। उनकी श्रीमती पार्वती गहतराज लुम्बिनी प्रदेशको समानुपातिक सूचीमा छिन्।

यस्तै माओवादी केन्द्रका नेता खगराज भट्ट डेडेलधुरा (क) बाट सुदूरपश्चिम प्रदेशसभाका लागि प्रत्यक्ष लडेका छ्न्। उनकी श्रीमती मञ्जु बम त्यहीँ प्रदेशको समानुपातिक सूचीमा छिन्।

यता, जनता समाजवादी पार्टीका नेता अशोक राई सुनसरी १ बाट चुनावी मैदानमा छ्न् भने उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिक सूचीमा छिन्।

यसमा तपाइको मत

Your email address will not be published.


*