हटियामा प्रदेशको सिंहदरवार निर्माण गरिने

अखबार हब
२०७९ भाद्र २८, मंगलवार १५:३२

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको ‘सिंहदरबार’ निर्माण गर्ने भएको छ ।बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको ‘सिंहदरबार’ हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा निर्माण गरिने जानकारी दिएका हुन् । उनले प्रादेशिक संरचना निर्माण प्रयोजनार्थ जग्गा छनौट गरेर स्वीकृतका लागि संघीय सरकारमा पठाएको जनानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने जानकारी दिए ।

‘हेटौँडा–१६ मा ५४ बिघा क्षेत्रफलमा प्रदेशको सिंहदरबार बन्छ । हामीले जग्गा छनौट गरेर संघीय सरकारलाई स्वीकृतीका लागि पठाइसकेका छौं । केही दिनभित्रै त्यसको अनुमति आउँछ,’ पाण्डेले भने, ‘जग्गा स्वीकृत भएको एकहप्ताभित्र संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गर्छौ ।,’ प्रादेशिक संरचना निर्माणका लागि चालू आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ५ करोड बजेट बिनियोजन गरेको उनले जानकारी दिएका छन् । उनका अनुसार हटियामा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरु, प्रदेशसभा भवन, प्रदेश लोक सेवा आयोग, सांसददेखि मन्त्रीका क्वाटर, विभागहरु, प्रहरी बिटसहितको संरचना निर्माण हुनेछन् । बागमतीमा सरकार गठन भएको चार वर्षपछि ११ फागुन २०७८ मा प्रदेश सरकारले हेटौँडाको आठ ठाउँमा जग्गा पहिचान गरी प्रादेशिक संरचना निर्माण गर्न स्वीकृतीका लागि संघीय सरकार समक्ष सिफारिस गरेको थियो । तर, प्रदेशको ‘सिंहदरबार’ कहाँ निर्माण हुने भन्ने विषय अन्यौल थियो ।

यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–२, स्थित हालकै सरकारी अड्डा भएका क्षेत्रमा प्रादेशिक संरचना बनाउने गरी डीपीआर निर्माण गरेका थिए । हाल मुख्यमन्त्री कार्यालय रहेको क्षेत्र साँघुरो रहेको भन्दै पाण्डे नेतृत्वको सरकारले प्रादेशिक संरचना हटिया पु¥याएको हो । हेटौँडाको मुख्य बजारबाट हटिया करिब १० देखि १५ किलोमिटर दुरीमा छ । हटिया काठमाडौं–निजगढ द्रुतमार्गबाट नजिक र धरान–चतरा– हेटौँडा सडक खण्डसँग जोडिएको क्षेत्र हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*