चामल बाड्दै, भोट माग्दै ईन्द्र बानियाँ

अखबार हब
२०७९ भाद्र ९, बिहीबार २०:१९

मकवानपुर । सरकारले आगमी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै गाउँ घरमा यति वेला चुनावी माहोल तातेको छ ।

यसै क्रममा विभिन्न राजनितिक पार्टीका नेता तथा कार्यकर्ताहरुले निर्वाचन केन्द्रीत कार्यक्रमहरु सुरु गरिसकेका छन् ।

निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिब विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँवस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, वनकरिया तथा तामाङ समुदायका गरिब, विपन्न परिवारका ५ सय घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल र एक पोका मस्यौरा सहयोग गर्दै काँग्रेसको चुनाव चिन्हमा भोट हाल्न आह्वान गरेका छन् ।

खाद्य सामग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दीनदुःखी, असहाय, गरिबको सेवामा सधैँ समर्पित रहने पार्टी रहेको समेत दाबी गरेका थिए । नेता बानियाँले चाडबाडको मुखमा गरिब र विपन्न जनतालाई केही राहत हुने लक्ष्यका साथ सानो सहयोग गरेको बताउँदै जनताको दुःख, पीडा र साथ सहयोगमा कांग्रेस सधैँ रहिरहने बताए । उनले आगामी निर्वाचनमा काँग्रेसले खडा गरेको उम्मेदवार लाई मत हाल्न समेत अपिल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*