वडा अध्यक्ष सिग्देल भन्छन् : कारबाही नै सबैथोक होइन्, त्यसैले सच्चिन मौका दिए

अखबार हब
२०७९ भाद्र ९, बिहीबार १४:३४

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले आफूलाई कार्यकक्षमै कुटपिट गर्ने सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि हातपात गर्ने लामालाई क्षमा दिएको जानकारी दिएका हुन् ।

उनले हिजै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न आफूले अनुरोध गरिसकेको बताए । कारबाही नै सबैथोक नभएको भन्दै गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको उनको भनाइ छ ।

घटना नदोहोरियोस् र एउटा चेतावनी रहोस् भनेर जाहेरी स्थगित गरेको र फेरि घटना दोहोरिए कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए । वडाध्यक्ष सिग्देलले कसैको दबाब र डरमा नपरी स्थगित गरेको उनले बताए ।

एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका थिए । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका थिए ।

४ नम्बर वडाभित्र रहेको भुटनदेवी स्कुलको सटरको टेण्डरका विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उनले सटरको टेण्डरमा आफ्नो कुनै संलग्नता नरहेको र सटरको विषयमा समाचार लेखाएको विषयमा आफूमाथि आरोप लगाएकाले विवाद उत्पन्न भएको बताए । वडा कार्यालयले सटरको टेण्डर तत्काल स्थगित गर्न भुटनदेवी उच्च माविलाई पत्र काटेको उनले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*