हेटौँडाको क्वीक ट्वान्टी होटलमा करेन्ट लागेर एक युवकको मृत्यु

अखबार हब
२०७९ श्रावण २२, आईतवार १४:५४

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–४ स्थित क्वीक ट्वान्टी होटलको छतमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

करेन्ट लागेर बाराको सिमरा उपमहानगरपालिका–१५, डुमरवानाका १९ वर्षीय प्रदीप लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतक युवक शनिबार साँझ ७ बजे होटलको छतमा गएका थिए । मोबाइल चलाउँदै छतमा गएका उनले रडमा समातेपछि करेन्ट लागेको उनका दाइ प्रकाश लामिछानेले जानकारी दिए । करेन्ट लागेपछि अर्धचेत अवस्थामा पुगेका उनलाई हेटौँडा अस्पतालमा लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘छतमा करेन्ट लागेपछि भाइ बेस्सरी चिच्यायो । म गएर तान्न खोज्दा मलाई पनि तीन पटकसम्म करेन्टले फाल्यो,’ उनले भने । उनका अनुसार होटलको छतमा रहेको सोलार प्यानलबाट करेन्ट सर्ट भएको अनुमान छ । छतमा यसअघि पनि करेन्ट सर्ट भएको भन्दै कर्मचारीहरूले सञ्चालकलाई पटक–पटक सचेत गराएका थिए । सञ्चालकको बेवास्थाका कारण आफ्नो भाइको मृत्यु भएको दाइ प्रकाशले बताए ।

मृतक लामिछाने होटलमा दुई वर्षदेखि वेटरका रूपमा काम गर्दै आएका थिए । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार लामिछानेको करिब ८ बजे हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

क्वीक ट्वान्टी होटलमा २३ माघ २०७७ मा पनि एक युवकको मृत्यु भएको थियो । सरसफाइको काम गर्ने रौतहटको देवाही नगरपालिका घर भएका ४२ वर्षीय विनोद यादवको पाँच तलामाथिबाट खसेर मृत्यु भएको थियो । प्राप्त जानकारीअनुसार यादवले आत्महत्या गरेको भन्दै प्रहरीले मुचुल्का उठाएर मृत्युको घटनामा ‘च्याप्टर क्लोज’ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*