हेटौंडा उपमहानगरको पशुपालन प्रोत्साहन कार्यक्रम

अखबार हब
२०७९ असार २९, बुधबार १९:५९

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले उपमहानगरलाई माछामासुमा आत्मनिर्भर बनाउन र किसानलाई समृद्ध बनाउन पशुपालन प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको र आगामी आर्थिक वर्षमा पनि निरन्तर रहने उपमहानगरले जनाएको छ ।

उपमहानगरले पशुपालक किसानलाई लक्षित गरेर विभिन्न क्षेत्रमा अनुदान रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा यहाँका किसानलाई पशुपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाइएको छ । पशुपक्षी विकास तर्फ किसानसँगको लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत ४० जना किसानलाई ‘काउ म्याट’ वितरण गरिएको उपमहानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख गङ्गा चौलागाईंले बताउनुभयो ।

यसैगरी पाडापाडी अनुदानअन्र्तगत १५ वटा समूहलाई ३०० वटा वितरण गरिएको छ । युवा लक्षित अनुदानअन्र्तगत १० वटा फार्मलाई एक लाखका दरले वितरण गरिएको उहाँले बताउनुभयो । यसैगरी माछा तथा हाँसपालन अनुदान ९ वटा फार्मलाई वितरण गरिएको छ । बङ्गुरपालन अनुदानअन्र्तगत १७ समूहलाई पाठापाठी वितरण तथा व्यावसायिक फार्म प्रोत्साहन कार्यक्रम १० गरी जम्मा १०१ किसानलाई अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

विगत वर्षदेखि सञ्चालन हुँदै आएको पशुको कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा १२ हजार पशुमा सेवा उपलब्ध गराइएको छ । उपमहानगरका ४ वटा सेवा केन्द्रमार्फत पशुमा लाग्ने विविध रोगका लागि आवश्यक औषधिहरु निःशुल्क वितरण गरिनुका साथै मौसम अनुसारको घाँसको बीउ सेवा केन्द्रमार्फत वितरण भइरहेको छ ।

पशुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पिपिआर, भ्याकुते रोगको नियन्त्रणको लागि खोप लगाउने कार्य आवश्यकता अनुसार निरन्तर हुँदै आएको छ । सङ्घीय सरकारको सशर्त अनुदानबापत उपलब्ध भएको ‘मासु मिसन’ कार्यक्रम अन्तर्गत विभिन्न १३ किसान समूहलाई १३० वटा पाडा वितरण गरिएको छ । साथै, ‘मिटमार्ट’ निर्माण कार्यका लागि माछामासु व्यवसायी सङ्घसँगको सहकार्यमा पशु बधशाला निर्माण कार्य चालु अवस्थामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*