बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेश स्वीकृत

अखबार हब
२०७९ असार २९, बुधबार १९:५४

मकवानपुर । बागतमी प्रदेशसभाको आजको बैठकले पाँचवटा अध्यादेशलाई स्वीकृति प्रदान गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक एक घण्टा ढिलो गरी बसेको थियो ।

बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको हो । त्यस्तै बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ स्वीकृति प्रदान गरेको छ ।

यस्तै आजको बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गर्नुभएको थियो । बैठकामा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भएको थियो ।

शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । शून्य समयमा सत्तापक्षका पाँच जना र प्रतिपक्षका सात जनाले प्रदेश र राष्ट्रको वर्तमान अवस्थाका बारेमा आ–आधारणा व्यक्त गर्नुभएको थियो । बैठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान मुख्यमन्त्री एवं एमाले बागमती प्रदेशकी संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य, प्रदीपकुमार कटुवाल, शान्तिप्रसाद पौडेल, जुनेलीमाया श्रेष्ठ र देवकी श्रेष्ठ र विवेकशील साझा पार्टीका तीनमध्ये दलका नेता रमेश पौड्याल गरी सात जना प्रतिपक्षका सांसदहरू मात्रै उपस्थित हुनुहुन्थ्यो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको बैठक अनिश्चितकालका लागि स्थगन भएको घोषणा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*