बर्खायाममा पानी माग्दै भ्यागुताको बिहे !

अखबार हब
२०७९ असार २४, शुक्रबार १४:४१

बर्दिया । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को मिर्चैया गाउँका स्थानीयवासीले बर्खायाममा पनि पानी नपरेर खडेरी भएपछि भ्यागुताको बिहे गरिदिएका छन् । असार महिना सकिन लाग्दा पनि आकाशबाट पानी नपरेकाले लामो खडेरीका कारण चिन्तित बनेका स्थानीय किसान भेला भइ गाउँमा पूजापाठ गरी भ्यागुताको बिहे गरिदिएका हुन् ।

बर्खा लागिसक्दा पनि पानी नपरेर अत्यधिक गर्मी भएर खडेरी परेपछि वर्षाका देवता इन्द्रदेवलाई खुसी बनाउन भन्दै बेला–बेला विभिन्न खाले परम्परागत जुक्ति लगाइन्छ । कतै महिलाले दौरासुरुवाल लगाएर हलो जोत्छन् त कतै महायज्ञ लगाइन्छ, कतै बाजागाजासहित भ्यागुताको बिहे गरिदिने चलन पनि छ ।

त्यही चलनअनुसार भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वास रहेकाले मिर्चैयाका स्थानीयवासीले पनि भ्यागुताको बिहे गरेका मिर्चैया गाउँका बडघर राजु थारुले बताए । परम्पराअनुसार गाउँका स्थानीय बालबालिकाहरू वर्षाका देवता इन्द्रलाई पानी पारिदिन प्रार्थना गर्दै पानीको आहाल बनाएर लडीबुडी खेल्ने पनि गरेका बडघर थारुले बताए ।

बर्खाको समयमा पानी नपरेपछि बर्दियाका धेरैजसो किसानले धान खेती लगाउन पाएका छैनन् भने अत्यधिक गर्मीका कारण जनजीवन पनि प्रभावित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*