राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौँडा आएकी छात्रामाथि बलात्कार प्रयास, वडाध्यक्षमाथि आरोप

अखबार हब
२०७९ असार २३, बिहीबार १७:०४

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाबाट राष्ट्रिपति रनिङ शिल्ड खेल्न हेटौँडा आएकी एक छात्रामाथि बलात्कार प्रयास भएको छ ।

हेटौँडामा १८–१९ असारमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन कैलाश गाउँपालिका–९, नामटारको कालिका माविबाट प्रतिनिधित्व गर्दै आएकी करिब १७ वर्षीया विद्यार्थीमाथि वडाध्यक्षले बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको हो । पीडितसहित उनका आफन्तले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता गर्न जाने तयारी गरेका छन् ।

पीडित विद्यार्थी माइती नेपालको शरणमा पुगेकी थिइन् । माइती नेपालमा परामर्शपछि मुद्दा दर्ता गर्न जाँदै गरेको स्थानीय रुपक कालिराजले जानकारी दिए । कैलाश–९ का वडाध्यक्ष भुवन घलानमाथि बालिका बलात्कार प्रयासको आरोप लागेको हो । उनले राति पीडित विद्यार्थी बसेको कोठामा प्रवेश गरेर गोप्य अंगमा हात लाने कार्य गरेको बालिकाले माइती नेपालसँग बताएकी छन् । ‘मैले यस्तो नगर्नु भन्दा पनि मेरो गोप्य अंगमा हात लगाउनु भयो,’ पीडित बालिकाले माइती नेपालसँग सुनाइन् ।

वडाध्यक्ष घलानले भने आफूले गलत कार्य नगरेको भन्दै फसाउन खोजिएको दाबी गरे । घटना १९ असार रातिको हो । हेटौँडा– १ स्थित आसन गेष्ट हाउसमा कालिका माविका विद्यार्थी खेलाडीसहित शिक्षकहरू बसेका थिए । होटलको एउटा कोठामा पीडित बालिकासहित दुई जना विद्यार्थी बसेका थिए । अन्य दुई विद्यार्थी भने प्रतियोगितामा भाग लिन नआएका र विद्यालयकै विद्यार्थी भएको आरोपित वडाध्यक्ष घलानले जानकारी दिए ।

बालिकाहरू बसेको कोठामा करिब साढे ९ बजेदेखि १० बजेभित्र वडाध्यक्ष घलान प्रवेश गरेको पीडितले बताएकी छन् । तर, वडाध्यक्ष घलानले आफू विद्यार्थीहरूको निगरानीकै लागि सक्रिय भइरहेको अवस्थामा राम्रोसँग सुत्नको लागि आग्रह गर्न र केही समस्या परेको भए सोध्न उक्त कोठामा प्रवेश गरेको बताए ।

‘म राति साढे ९ बजेतिर कोठामा पुगेको थिएँ । म एक्लै पनि थिइनँ, अरु शिक्षकहरू पनि हुनुहुन्थ्यो । हामीले केही समस्या परे भन्नु नत्र राम्रोसँग सुत्नु है भनेर फर्किएको हो । कुनै गलत काम गरेको छैन,’ उनले भने, ‘शिक्षकहरूले एउटै होटलमा छात्र र छात्रा राखेकोले कुनै अप्रिय घटना नहोस् भनेर निगरानीका लागि तपाईं पनि बस्नुस् भनेको भएर त्यही बसेको हुँ । म र अर्को एक जना शिक्षक एउटा कोठामा सुतेका थियौँ ।’

घटना बाहिरिएपछि गाउँमै छलफल गरेर मिलाउन विद्यालय प्रशासन नै सक्रिय भएको पाइएको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीले घटना थाहा पाएपछि पीडित बालिकाहरूलाई विद्यालयमै बोलाएर सोघपुछ गरेका थिए । सोधपुछपश्चात विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर छलफल गर्ने उनको तयारी थियो । विद्यालयमै छलफलका लागि बोलाएको प्रधानाध्यापक कालाखेतीले जानकारी दिए ।

‘मैले व्यवस्थापन समितिका पदाधिकारीलाई जानकारी गराएर छलफलका लागि बोलाएको हुँ । पीडित बालिकाको अभिभावक काठमाडौं भएकाले उहाँले पनि आफू गाउँमा आएपछि मात्रै छलफल हुने मलाई बताउनुभएको थियो ।’ उनले भने ।

बालिकामाथिको यौनजन्य हिंसा जस्तो संवेदनशील घटनामा विद्यालय नै घटना मिलाउने प्रयासमा लागेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयलाई यसबारे कुनै जानकारी दिइएको थिएन । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बलात्कार प्रयासको घटनाबारे कुनै जानकारी नभएको बताए । ‘अहिलेसम्म उजुरी परेको छैन । हामीले सुनेका पनि छैनौँ,’ डीएसपी कार्कीले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*