तथ्यांक विभागको सर्वेक्षणः २७ प्रतिशत फोहोर नदीमा फालिन्छ

अखबार हब
२०७९ जेष्ठ ३१, मंगलवार १२:५६

काठमाडौं । एक सर्वेक्षण अनुसार नेपालमा संकलित हुने फोहोरको २७ प्रतिशत फोहोर नदी किनारमा फाल्ने गरिएको पाइएको छ । सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तथ्यांक विभागमार्फत सन् २०२० मा २ सय ७१ वटा नगरपालिकामा गरेको आधार रेखा सर्वेक्षण अनुसार यस्तो देखिएको हो ।

संकलित फोहोरमैलाको आयतनको आधारमा कुहिने फोहोरको अंश ५४ प्रतिशत, रासायनिक फोहोरको अंश ३३.३ प्रतिशत र अन्य फोहोरको मात्रा १२.७ प्रतिशत रहेको देखाएको छ ।

सर्वेक्षणले संकलित फोहोमैलामध्ये ४८.६ प्रतिफल ल्यान्डफिल साइटमा बिसर्जन हुने, ३२.१ प्रतिशत जलाउने र २७.४ प्रतिशत फोहोर नदी किनारमा थुपार्ने गरिएको उक्त सर्वेक्षणले देखाएको छ । सर्वेक्षण गरेका नगरपालिका मध्ये ४२.१ प्रतिशतले मात्र ल्यान्डफिल साइटको प्रयोग गर्ने गरेका र ल्यान्डफिल साइटको प्रयोग गर्ने मध्ये ८५.१ प्रतिशतले आफ्नै ल्यान्डसाइट प्रयोग गर्ने गरेको देखिन्छ ।

उपलब्ध ल्यान्डफिल साइटको औसत आकार १५ हेक्टर रहेको छ भने औसत क्षमता २९ हजार ८ सय ७७ घनमिटर रहेको देखिन्छ । ल्यान्डफिल साइटको औसत दुरी ४.३ किलोमिटर र औसत आयु १६.३ वर्ष रहेको छ ।

४५ प्रतिशत नगरपालिकामा मात्रै ढल निकास

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७७ मा गरेको क्षमता विकास आवश्यकता पहिचानसम्बन्धी अध्ययनअनुसार १२ प्रतिशत स्थानीय तहको संस्थागत संरचनामा फोहोरमैला व्यवस्थापन शाखारउपशाखारएकाइको प्रबन्ध भएको देखिन्छ । उक्त अध्ययनले १२ प्रतिशत स्थानीय तहमा फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रको परिचालन गरेको देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले सन् २०१९/२० मा गरेको सर्वेक्षण अनुसार ४५ प्रतिशत नगरपालिकाहरु मात्र ढल निकासको प्रणालीमा आबद्ध रहेका छन् भने ९.४ प्रतिशत घरपरिवार मात्र सुविधायुक्त पानी निकास प्रणालीमा जोडिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*